हजारे ओडार
- लच्छा चुम
प्रकृती आफैमा एक अध्यनको विषय हो त्यसपछि उसको वनावट आकार प्रकारहरु गम्भीर कौतुहलता अनि चिन्तनको विषय हो , मान्छेलाई हरेक कुराको एकदिन मात लाग्छ सायद त्यसैले होला अचेल मान्छेहरु शहर बजारको कृतिम सुन्दरताहरुमा भन्दा बिकट गाउँ बस्ती अनि हिमाल पहाड पर्वतहरुको अनुपमतामा रमाउन चाहान्छन , जहाँ स्वच्छ हावापानी अनि शान्त वातावरण छ जहाँ मान्छेहरुको त्यती आवतजावत हुदैन त्यस्तै ठाउँहरु अचेल बढी चासोको विषय बन्दै जादैछ , विज्ञानले सबै कुराको पत्ता लगाईसक्यो आफ्नो आविष्कारहरु पनि सबै सामु पुर्याईसक्यो तर विज्ञान अझै सन्तुष्ट भने छैन उसको खोज अनुसंधानको यात्रा अझै धेरै लामो छ यतीसम्म कि उसको खोज अनुसन्धानको मापन हामी कसै संग पनि छैन , यसरी नै मुन्धुम र मुन्धुमी दर्शनहरुको आसय र विश्लेषणहरु पनि एक छुट्टै विचारमा विश्वासले महसुस गरेर बुझ्नुपर्ने एक अध्यन हो , विज्ञानले जस्तै मुन्धुम/शास्त्रहरुले पनि विश्व ब्रमाण्ड देखी प्रकृती सबैको छुट्टै किसिमले आफ्नै शैलीमा व्याख्या गरिल्याएको छ , सरल भाषामा लिने हो भने विज्ञान भन्दा मुन्धुम/शास्त्रहरु जेठो हुन् मुन्धुम/शास्त्रले ओकल्छ तर विज्ञानले प्रमाणित गर्छ त्यसैले विश्वमा विज्ञान अघि बढ्न सफल भयो ।
हजारे ओडार (हेन्छीङ फुक्को)
मुन्धुम प्रेमीहरुको लागि हजारे ओडार एक ऐतिहासिक ओडार हो , हजारे ओडार सम्बन्धी कैयौं किवदन्ती र मुन्धुमी किस्साहरु भेटिन्छ सायद त्यसैले होला हजारे ओडार मुन्धुमप्रेमी सबै संग परिचित छ , अपभ्रंशित हजारे ओडारको वास्तविक लिम्बु भाषाको मौलिक नाम “हेन्छिङ फुक्को” हो , “हेन्छीङ” भन्नाले लिम्बु भाषामा हजार भन्ने अर्थ लाग्छ , त्यस्तै “फुक्को/फुक्कु” भन्नाले ओडार हो यसरी नै हेन्छीङ फुक्को कालान्तरमा नेपाली भाषामा अनुवाद हुदाँ हजारे ओडार हुन् पुग्यो , ताप्लेजुङ जिल्ला फक्ताङलुङ गाउँपालिका वडा नम्बर ६ घुन्सा गाउँदेखी करिब ३ घण्टाको पैदल बाटो हिडेर पुगिने हजारे ओडार कंचनजंघा तथा फक्ताङलुङ हिमाल जाने बाटैमा पर्छ , जनविश्वास अनुसार ओडारको ढुङ्गा कुम्भकर्ण हिमालबाट उछिटिएर आएर बसेको भन्ने कसैले बताउछन भने कसै कसैको अनुसार ओडार भित्र हजारजनाको ज्यान गएको हुनाले यसलाई हजारे ओडार भनियो , त्यस्तै किरात धर्मावलम्बीहरुको मान्यता अनि विश्वास अनुसार तत्कालिन महागुरु फाल्गुनन्दले वि.सं. १९९५ सालमा पहिलो पटक फक्ताङलुङ हिमाल यात्रा गर्दा आफ्ना हजारौ चेलाभुलाहरु संग सोहि ओडारमा बास बसेका थिए त्यसै समयदेखी ओडारको नाम हजारे अथवा हेन्छीङ फुक्को रहन गयो , ओडारको उत्तर छेउ दिशामा धुपबत्ती चढाउने सानो थान पनि बनाईएको छ धर्मावलम्बीहरुको विश्वास अनुसार त्यो थानको मूल ढुंगा अथवा मुचोत्लुङ महागुरु स्वयंले राखेका थिए त्यो शिला अझैसम्म यथावत नै देख्न सकिन्छ महागुरुको संदेश अनुसार फक्ताङलुङ दर्शनमा जादाँ पहिले हजारे ओडारमा सानो सेवा लगाएर गए मात्र शुभ हुने भनाइ छ सोहि संदेश अनुसार किरात धर्मावलम्बीहरु फक्ताङलुङ तिर्थ जादा सबैले अनिवार्य त्यहाँ पुजा गरेर मात्रै जाने गर्छन यो प्रचलन सबै किरात धर्मावलम्बीहरुले आजसम्म पालना गरिल्याएका छन , आजसम्म यो ओडार त्यती सुरक्षित त पक्कै देखिदैन तर आगामी दिनमा यहाँ पनि एउटा धर्मशाला बन्ने तयारी रहेको कुरा घुन्सा निवासी उटुक लामा ज्युले हामीलाई जानकारी दिनु भयो त्यसपछि फक्ताङलुङ यात्रा गर्न अझ सहज हुने विश्वास गरिएको छ ।
No comments:
Post a Comment